काठमाडौँ : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नामका वामपन्थी कामका दक्षिणपन्थी ‘नावाकाद’हरु अझै रहेको बताएका छन् । साथै उनले सरकार ढल्यो ढल्यो भन्नेहरूलाई शेरबहादुर देउवा बैंककबाट फर्केपछि चिसो पानी खन्याइदिएकाले उनीहरू छक्क परेको बताए ।
मदन भण्डारी फाउन्डेसनको चौथो राष्ट्रिय सम्मेलनलाई आइतबार सम्बोधन गर्दै ओलीले पहिला एक पटक विष्णुबहादुर मानन्धरको समूह रहेको भन्दै त्यसले केशरजङ्ग रायमाझीहरूलाई ‘नावाकद’ भन्ने गरेको स्मरण गर्दै अहिले सरकार विरोधीहरू पनि नावाकाद नै रहेको बताए ।
‘नावाकाद भनेको छोटकरीमा ‘नामका वामपन्थी, कामका दक्षिणपन्थी’, ओलीले भने, ‘नावाकादहरु अहिले पनि छन् ।’ ओलीले उनीहरूको दुईवटा उद्देश्य रहेको पनि बताए ।
‘एउटा कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न हाम्रा विरुद्ध विभिन्न प्रकारका लाल्छना र आरोप लगाउने । अर्को ढल्यो ढल्यो ढल्यो सरकार ढल्यो । अहिले ढल्यो भरे ढल्यो । शेरबहादुरजी फर्कने वित्तिकै ढल्यो । शेरबहादुरजीले चिसो पानी टाउकाबाट खन्याएपछि फेरि छक्क परेका छन्’, प्रधानमन्त्रीको भनाइ छ ।





