
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गरेर ‘देशलाई कंगाल बनाउने’ भन्दै टिप्पणी गरेका छन्। शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘अचम्म त के भने यो देशलाई यसरी आजको जमानासम्म गरिब बनाएर ल्याउनेहरू फेरि हामी नभइ भएन, हामी आउँछौँ, साथ देउ, भनेर लाजै मान्दैन,’ प्रधानमन्त्री ओलीले भने, ‘यो देश कंगाल बनाउने त यिनीहरू हुन त।’
अहिले ३० वर्षमा देशले विकास गरेको पनि प्रधानमन्त्री ओलीले दाबी गरे। उनले भने, ‘अहिले यत्रो विकास, यो ३० वर्षमा यति विकास गरेको छ । तथ्यांक, आँकडाले बताउँछ।’
‘मान्छे नहुँदा जंगलमा मुलुक थियो होला’ भन्दै प्रधानमन्त्री ओलीले अगाडि भने, ‘त्यसपछि के भयो ? हामी देश बनाउनै पर्छ, देशलाई विकसित बनाउनैपर्छ । देशलाई बस्न लायकको बनाउनुपर्छ।’
वातावरणीय हिसाबले हिमाल, पहाड छन्,यस्तो स्वच्छ, पवित्र देश रहेकोपनि उनले बताए। ‘यो त देवभूमि हो । यस्तो ठाउँ, अक्सिजन नै अक्सिजन भएको ठाउँ छ,’ प्रधानमन्त्री ओलीले भने। यस्तो अक्सिजन भएको देशमा ‘फोक्साको व्यापारी’ कहाँबाट आयो ? भन्दै पूर्वराजामाथि टिप्पणी गरे।