काठमाडौं : सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म रानी नाका, मोरङका डीएसपी तानिएका छन् । रानी नाकाका डीएसपी ऋषिकेश राउतलाई सशस्त्रको नं. १ बराह बाहिनीमा तानिएको हो ।
बराह बाहिनी प्रमुख डीआईजी कुमार न्यौपानेले अहिले राउतको ठाउँमा अर्को डीएसपी पठाइएको बताए । उनका अनुसार रानी नाकामा डीएसपी अमर खत्रीलाई पठाइएको छ । सीमा नाकाबाट तस्करी हुने गरेको गुनासो आएपछि यस विषयमा गृहमन्त्री रमेश लेखकले समेत चासो राख्दै कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा कुरा उठाएका थिए । ३० दिनभित्र तस्करी रोक्न पनि निर्देशन दिएका थिए ।
डीएसपी राउतको कार्यसम्पादन सन्तोषजनक नदेखिएपछि उनको जिम्मेवारी फेरिएको सशस्त्र प्रहरीले बताएको छ । यसअघि सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्यालले पनि कमाण्ड सम्हालेर जान लागेका बाहिनीपतिदेखि अन्य दर्जाका सशस्त्र अधिकारीलाई समेत तस्करी रोक्न भन्दै निर्देशन दिएका थिए ।





