काठमाडौं : जुम्लामा अटो दुर्घटनामा परि चालकको मृत्यु भएको छ।
मृतक जुम्लाको तातोपानी गाउँपालिका-७ सर्मी गाउँका ४४ वर्षका रणबहादुर कुँवर हुन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक राेहित रसाइलीका अनुसार अटो दुर्घटना शुक्रबार राति ११ बजे भएको हो। क१ह ३१ नम्बरको अटो जुम्लाको तिला गाउँपालिका-४ भाेटचाैरमा दुर्घटना परेको प्रहरीले जनाएको छ।
तातोपानी-१ राकाँ गाउँबाट तातोपानी-७ सर्मी गाउँ धान लिएर जाने क्रममा अटो दुर्घटना भएको थियो। लगत्तै घाइते भएका चालक कुँवरलाई प्रहरी चाैकी कुडारीका प्रहरी हवल्दार बैजु महत्ताेकाे नेतृत्वले उद्धार गरी जुम्ला प्रतिष्ठान पुर्याएकाे थियो। घाइते चालक रणबहादुरकाे उपचारका क्रममा शनिबार बिहान ५ बजे ४० मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।
अटो सडकबाट करिब ६० मिटर तल खसेकाे थियो। शव प्रतिष्ठानकाे शव गृहमा राखिएको रसाइलीले बताए। उनले भने, ‘अटाे के कारणले दुर्घटना भएको हाे भन्ने कुरा यकिन जानकारी भएकाे छैन। अनुसन्धानपछि मात्रै भन्न सकिने छ।’ अहिले घटनास्थल तिर जाँदै गरेको उनले बताए।





