काठमाडौँ : गृहमन्त्री रमेश लेखकले पूर्व सूचनाको आधारमा जोखिम ठाउँहरू पहिचान गरी उद्धारको लागि तयारी हालतमा रहन सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन्। सोमबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा मनसुनजन्य विपद् व्यवस्थापनको पूर्व तयारीबारे छलफल गर्दै उनले सो कुरा बताएका हुन्।
उनले विपद्को समयमा छिटो सूचना र उद्धारकर्ता परिचालनको लागि तयारी हालतमा राख्न सबै सुरक्षा निकाय, स्थानीय तह र प्रदेश सरकारसँग समन्वय र सहकार्य गरी अघि बढ्न सकियो भने विपद्मा परेका नागरिकहरूको उद्धार र राहतमा छिटो छरितो सहयोग गर्न सकिने बताउँदै पूर्व सूचनाको आधारमा जोखिम ठाउँहरू पहिचान गरी उद्धारको लागि तयारी हालतमा रहन जरुरी रहेको बताए।
लेखकले विगतका घटनाहरूबाट पाठ सिकेर त्यही अनुसारको योजना बनाई अघि बढ्नुपर्ने बताउनुहुँदै यस वर्ष भारी वर्षाको सम्भावना भएको कारण विपद् उद्धारका सामाग्रीसहित सशस्त्र प्रहरी बल नेपालका सबै युनिटहरूमा जनशक्ति तयारी हालतमा राख्न निर्देशन दिए।
उनले भएका सामाग्रीहरूको सही परिचालन गरी जोखिम न्यूनीकरण र नागरिकको जीउधनको सुरक्षा गर्न अबको मनसुनमा प्राथमिक कार्य भएको बताए। आम नागरिकबारे गुनासो नआउने गरी काम गर्न जरुरी रहेको बताउँदै उनले विपद्को समयमा स्थानीय तथा प्रदेश सरकारसँग समेत समन्वय गर्दै कार्य गर्नुपर्नेमा जोड दिए।





