काठमाडौँ : माओवादी उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा सरकार अपेक्षित रूपमा लचक नभएको बताएका छन् ।
बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमहासचिव पुनले भिजिट भिसा प्रकरणको सम्बन्धमा सरकार नरमको हुनुको सट्टा झन गरम हुँदै गएको उल्लेख गर्दै जिम्मेवार बन्नुपर्ने बताएका हुन् ।
‘भिजिट भिसा प्रकरणबारे सरकार भनेजति अझै लचक भएको छैन । भोलिसम्म सरकार जिम्मेवारपूर्वक र लचकताका साथ प्रस्तुत हुन्छ भन्ने आशा छ । हामी धेरै नरम भएका छौँ, सरकार गरम छ । सरकार अलि नरम र जिम्मेवार हुनुपर्छ । यो विषय प्रतिपक्षको नभई जनताको विषय हो । आम जनताले दुःख पाइराखेको छ । यसबारे छानबिन गरेर तथ्यहरू स्थापित गर्नका लागि सरकार प्रतिबद्धता अनिवार्य हो नि त,’ उनले भने ।
भिजिट भिसाको आवरणमा हुँदै आएको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता भए नभएको बुझ्न र प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आएका छन् ।







