काठमाडौँ : विशेष अदालतले सर्लाहीकाे बागमतीका निलम्बित मेयर भरत थापालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ ।
न्यायाधीश टेकनारायण कुँवर र रामबहादुर थापाको इजलासले बुधबार सम्पत्ति शुद्धिकरणको मुद्दामा थापालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो । अख्तियारले २०८२ जेठ ३ गते बागमतीका निलम्बित मेयर थापा र उपमेयर लीलाकुमारी मोक्तान, मधेश प्रदेशका पूर्वअर्थमन्त्री विजय यादवसहित ८ जनाविरुद्ध सरकारी सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोपमा ५६ करोड ७१ लाख रुपैयाँको मुद्दा दायर गरेको थियो ।
निलम्बित मेयर थापाविरुद्ध अख्तियारले विशेषमा दायर गरेको यो तेस्रो मुद्दा थियो । उक्त मुद्दामा विशेषले गरेको म्याद तामेलीपछि थापा बुधबार अदालतमा उपस्थित भएका थिए । थुनछेक बहसपछि विशेषले उनलाई धरौटीमा छाड्न आदेश गरेको हो ।





