काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमा राखिएको ‘टेक एन्ड पे’को प्रावधानले नराम्रो गर्ला कि जस्तो भएपछि हटाउनुपरेको बताएका छन् ।
विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रधानमन्त्रीले ‘टेक एन्ड पे’बारे उक्त जवाफ दिएका हुन् ।
सांसदले ‘टेक एन्ड पे’ किन ल्याएको र किन हटाएको ? भनेर प्रश्न गरेका थिए । सांसदले त्यसरी नै बजेटका व्यवस्था हटाउने हो भने बजेट संशोधन गर्न नै प्रधानमन्त्री अगाडि सर्नुपर्ने प्रस्ताव राखेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘टेक एन्ड पे राम्रो गर्नका लागि ल्याइएको थियो । नराम्रो गर्ला कि जस्तो भयो हटाइयो ।’
प्रधानमन्त्री ओली र सत्तारुढ कांग्रेस सभापति शेरबहादुर देउवाबीच बजेटमा राखिएको ‘लेऊ र तिर’ (टेक एन्ड पे) विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) को प्रावधान हटाउने सम्बन्धमा सोमबार सहमति भएको थियो ।
‘टेक एन्ड पे’ मा पीपीए हुँदा प्राधिकरणले आफूलाई आवश्यक परिमाण खरिद गरेर त्यसको मात्र पैसा तिर्छ । ‘टेक अर पे’ मा पीपीए हुँदा प्राधिकरणले प्रवर्द्धकसँग गरिएको सम्झौताअनुसार बिजुली लिनुपर्छ, नलिए त्यसबापतको मूल्य प्रवर्द्धकलाई तिर्नुपर्छ ।





