काठमाडौं : नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले पूर्वराष्ट्रपतिहरु पुनः राजनीतिमा फर्किने अभ्यास गलत रहेको धारणा व्यक्त गरेका छन् ।
प्राइम टाइम्स टेलिभिजनमा उनले राष्ट्रपति र पूर्वराष्ट्रपतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा साझा व्यक्तिको रुपमा हेरिने र यस्ता व्यक्तिहरुलाई विवादित बनाउन नहुने बताएका हुन् । राष्ट्रपति संस्थालाई पार्टी र पार्टीभित्रको अन्तर संघर्षबाट पृथक राख्नुपर्ने उनको भनाइ छ । राष्ट्रपति एवं पूर्वराष्ट्रपतिहरु सबै दलहरुको हार गुहार गर्ने चौतारी बन्नुपर्ने उनको धारणा छ ।
‘राष्ट्रपति भनेको यो व्यवस्थाको गौरव हो । हाम्रो संविधानबमोजिम पनि राष्ट्रपति भनेको राष्ट्रिय एकताको प्रवर्द्धक हो । त्यस कारण यो साझा हुन्छ, अभिभावकीय भूमिका हुन्छ । व्यवस्थाको गौरव र प्रतिकका रुपमा संस्थाले काम गर्छ भन्ने विश्वास गरिन्छ । राष्ट्रपतिप्रतिको जे बुझाई हो पूर्वराष्ट्रपतिप्रति पनि भूमिकामा नभए पनि त्यही ओज र गरिमाको साथ आम जनताहरुले बुझ्दछन्,’ उनले भने, ‘राष्ट्रमा मात्रै होइन अन्तर्राष्ट्रिय जगतमा पनि । कहिलेकाहीँ पूर्व राष्ट्रपतिका अन्तर्राष्ट्रिय भ्रमण हुँदा राष्ट्रपति सरहको सम्मान पाइरहेको हामीले देख्छौं । यो पद र संस्थालाई साझा संस्थाको रुपमा लैजान पर्छ । त्यो संस्थाले आफूलाई त्यही ओजमा राख्नु उपयुक्त हुन्छ ।’
सर्वोच्च अदालतको प्रधानन्यायाधीश वकिलबाट पनि बन्न सक्ने बताउँदै उनले यसरी प्रधानन्यायाधीश बनेको व्यक्ति रिटायर्ड भएपनि पुनः वकालत पेशामा जान नपाउने बताए । राजनीति गरेर आएको व्यक्ति राष्ट्रपति बन्ने र अवधि समाप्त भएपछि पुनः राजनीतिमा फर्किने परम्परा गलत हुने धारणा उनको थियो ।










