नेकपा एसले झाक्रीसँग सोध्यो स्पष्टीकरण

२०८२ असार १८, बुधबार

काठमाडौँ : नेकपा एकीकृत समाजवादीले रामकुमारी झाक्रीलाई स्पष्टीकरण सोधेको छ। केही दिन अघि अध्यक्ष माधवकुमार नेपालबारे झाक्रीले गरेको टिप्पणीलाई लिएर पार्टीले स्पष्टीकरण सोधेको हो। पार्टीको अनुशासन आयोगबाट बुधबार सोधिएको स्पष्टीकरणको म्याद तीन दिनको रहेको छ ।

झाक्रीले केहीदिनअघि बुटवलमा आयोजित युवा संघको प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष नेपाललाई भ्रष्टाचार मुद्दा लागेकाले नेतृत्व परिवर्तनको कुरा उठाएकी थिइन्।

‘कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो। अरू कैयौं पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ,’ झाक्रीले भनेकी थिइन्,‘अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन।’ सँगै उनले ‘अर्ली महाधिवेशन’ गरेर हलबाट नेतृत्व परिवर्तन गर्नुपर्ने कुरा उठाएकी थिइन्।

अध्यक्ष नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा मुछेर भ्रष्टाचार मुद्दा लगाएको थियो। विशेष अदालतले नेपाललाई ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार