काठमाडौँ : नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले रामकुमारी झाँक्रीलाई नेकपा एकीकृत समाजवादीले स्पष्टीकरण मागेकाप्रति कटाक्ष गरेका छन्।
एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य झाँक्रीले भ्रष्टाचार मुद्दा लागेका पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध कडा अभिव्यक्ति दिएपछि उनलाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण मागेको छ।
यसैमा कटाक्ष गर्दै पूर्वमन्त्रीसमेत रहेका एमाले पोलिटब्युरो सदस्य बाँस्कोटाले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘जे रोप्यो त्यै फल्छ, प्रकृतिको नियम। हिजो केपी ओलीविरुद्ध रामकुमारी झाँक्रीले पार्टीमा व्यक्तिले विचार र प्रतिष्पर्धा गर्न पाउनेभन्दा बढी बोल्दा नेपथ्य र कन्दराको गीतमा झुमेका दर्शकलेझैँ ताली ठोक्ने समाजवादी हातहरू यति छिट्टै झाँक्रीको मुखमा पट्टी टाँस्न उचालिएको देख्दा उदेक छु।’
स्मरण रहोस्, एकीकृत समाजवादी नेकपा एमालेबाटै फुटेर बनेको पार्टी हो। एमालेमा रहँदा झाँक्रीले अध्यक्ष ओलीको पनि कडा रूपमा आलोचना गर्थिन्। जतिबेला उनी माधवकुमार नेपालनिकट थिइन्।





