काठमाडौँ : एमाले महासचिव शंकर पोखरेलले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा आफैँ प्रतिनिधि भएर पास गरेको विधानका बारेमा प्रश्न उठाउने कुरा सङ्गठनात्मक अराजकता भएको बताएका छन् । विधान महाधिवेशनको तयारी सन्दर्भमा जनसङ्गठनका इन्चार्ज र पदाधिकारीहरूको भेलालाई बिहीबार च्यासलमा सम्बोधन गर्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।
भेलामा महासचिव पोखरेलले विधान महाधिवेशनले तय गरेका कतिपय विषयहरू राष्ट्रिय महाधिवेशनले संशोधन गर्न सक्ने भएकोले यसको वैधानिक व्यवस्थाबारे जानकारी नै नलिई महाधिवेशन प्रतिनिधि हुने कुरा सांगठनिक अराजकता भएको बताए ।
‘विधान महाधिवेशनले अन्तिम रूप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा राष्ट्रिय महाधिवेशनले संशोधन गर्दछ । दुवै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधानहरू आफैँ अनुमोदन गर्ने अनि अहिले आफैँ प्रश्न गर्दै हिँड्ने कुरा अनैतिक हो’ महासचिव पोखरेलले भने, ‘राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिँड्ने कुरा अनुशासनहीन र अराजक हो । जसले यस्ता गतिविधि गर्दछ त्यसको प्रतिवाद गर्नुपर्दछ ।’
पार्टी र संगठनभित्र फैलिएको यस्तो अराजकता क्षम्य नहुने भन्दै पार्टीका घोषित नीतिको अवज्ञा नगर्न महासचिव पोखरेलले चेतावनी दिए ।भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टी र नेतृत्व विरुद्धको आक्रमण गतवर्ष अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गरेदेखि झनै बढेको पनि बताए । एमाले सरकारमा भएको धेरैलाई मन नपर्ने भएकोले अनेक लाञ्छना लगाएर हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाइने गरेको पोखरेलको भनाइ छ ।





