विराटनगर : नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले विराटनगरस्थित कोइराला निवास कांग्रेसका लागि गुटको केन्द्र नभई साझा ‘पवित्र भूमि’ भएको बताएका छन् । उनले नेपालको राजनीतिमा कोइराला परिवारले पुर्याएको योगदान अतुलनीय रहेको भन्दै प्रशंसा गरे ।
मंगलबार विराटनगर आएका नेता खाँणले बुधबार बिहान कोइराला निवास पुगेर पत्रकारहरूसँग कुराकानी गर्दै उक्त विचार व्यक्त गरेका हुन् । कोइराला निवासको भ्रमणलाई राजनीतिक गुटसँग जोडेर नहेर्न आग्रह गर्दै उनले भने, “कोइराला निवास हाम्रो लागि एउटा हिसाबले पवित्र भूमि हो, कुनै धार्मिक स्थल गएको जस्तै हो । यो कुनै गुटको हिसाबले हेर्ने ठाउँ होइन ।”
उनले बीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालगायत नेताहरूको भावनात्मक सम्बन्ध आम नागरिकसँग रहेको र उनीहरू प्रातःस्मरणीय महामानव भएको बताए ।





