काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीसहित भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र श्रममन्त्री शरदसिंह भण्डारीले हेलिकोप्टरमार्फत गरेको सुख्खा क्षेत्रको अवलोकनको विरोध गरेको छ।
रास्वपाका सांसद अशोक कुमार चौधरीले हेलिकोप्टर उडानमा भएको खर्च सिधै कृषकहरूलाई दिँदा प्रभावकारी हुँदैनथ्यो भनेर प्रश्न गरेका छन्। ‘हेलिकोप्टर उडानको लाखौँ खर्च सीधा पीडित किसानहरूलाई राहतस्वरूप वितरण गरिएको भए, के त्यो प्रभावकारी हुँदैन थियो?,’ सांसद चौधरीले फेसबूकमा लेखेका छन्।
उनले कृषकहरूलाई फोटो सेसन नभई मल-बिउलगायतका राहत चाहिएको बताएका छन्। ‘कृषकलाई चाहिएको समाधान हो– सिँचाइ, बीउ, मल, र तत्कालीन राहत, फोटो सेसन होइन,’उनले भनेका छन्।
तराई-मधेसका किसानहरूसँग जमिन चिरा-चिरा पर्ने, गहुँ, धान सुक्ने, खानेपानी र सिँचाइको अभाव, सरकारी मौनतालगायतका समस्या भएको उनले उल्लेख गरेका छन्। ‘अब अवलोकनभन्दा कार्यनीति र तत्कालीन राहत प्याकेज आवश्यक छ। किसानहरूलाई आश्वासन होइन, व्यावहारिक सहयोग चाहिएको छ,’ उनले भनेका छन्।








