रेशमका बुबा लालवीर चौधरी बने नाउपा अध्यक्ष

२०८२ श्रावण १५, बिहीबार

काठमाडौं : नागरिक उन्मुक्ति पार्टी (नाउपा) औपचारिक रूपमा विभाजित भएको छ।

अध्यक्ष रञ्जिता श्रेष्ठसँग असन्तुष्ट पक्षले बिहीबार आयोजना गरेको राष्ट्रिय भेलाले श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउँदै पार्टीका संरक्षक रेशम चौधरीका बुबा एवं सांसद लालवीर चौधरीलाई सर्वसम्मतिले नयाँ अध्यक्ष चयन गरेको हो।

भेलापछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै नवनिर्वाचित अध्यक्ष चौधरीले पार्टीलाई विधि र पद्धतिमा चलाउन आफूहरूले यो कदम चाल्न बाध्य भएको बताए। ‘पार्टीको अवस्था र परिस्थितिले गर्दा हामीले यो निकास खोजेका हौँ,’ उनले भने, ‘डेढ वर्षदेखि बैठक नडाकेकाले पार्टी अनिर्णयको बन्दी बनेको थियो। रुपन्देहीमा उपनिर्वाचन आइसकेको अवस्थामा उम्मेदवारी दिने प्रक्रिया अघि बढाउन पनि यो निर्णय आवश्यक थियो।’

उपस्थित एक नेताले बहुमत केन्द्रीय सदस्यले बैठक बोलाउन आग्रह गर्दा अध्यक्ष श्रेष्ठले बेवास्ता गरेको आरोप लगाए। ‘हामीले २४ घण्टे समय दिएर बैठक बोलाउन आग्रह गर्‍यौँ, तर उहाँले कुनै जानकारी नगराएपछि बहुमत केन्द्रीय सदस्य, सांसद र स्थानीय तहका जनप्रतिनिधिहरूको उपस्थितिमा यो भेला आयोजना गरिएको हो,’ उनले भने।

नवनिर्वाचित अध्यक्ष चौधरीले पूर्वअध्यक्ष श्रेष्ठले लगाएको ‘अवैधानिक’ भेलाको आरोप खण्डन गरे। ‘हामीले उहाँलाई कारबाहीको रूपमा हटाएका होइनौँ, यो पार्टीलाई निकास दिन गरिएको विधि र पद्धतिसम्मत निर्णय हो,’ उनले भने, “उहाँले अझै पनि आएर पार्टीमा आफ्नो भूमिका खोज्न सक्नुहुन्छ।’

यो निर्णयसँगै नागरिक उन्मुक्ति पार्टीमा दुई समानान्तर नेतृत्व खडा भएको छ। लालवीर चौधरी पक्षले आफ्नो निर्णय आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा प्रक्रिया अघि बढाउने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार