काठमाडौं : दुई साताअघि डिल्लीबजार कारागारबाट छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल चैत १५ गते काठमाडौंको तीनकुने घटनाबारे पहिलो पटक मुख खोलेका छन् ।
सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै उक्त दिनको घटनाबारे बताएका हुन् । उनले करिब १० वर्षपछि आफूले पहिलो पटक सोही दिन गाडी चलाएको र आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीकै अगाडि पुगेको बताएका छन् ।
‘म गाडी लिएर प्रहरीकोमा गएँ । मार्ने योजना भए पनि एक–दुई जनालाई भनेको हुन्छ भन्ने लागेर मैले पुलिसकै गुँडभित्र छिर्नु पर्छ भनेर छिरेँ,’ प्रसाईंले भने, ‘त्यसपछि मलाई एक डीएसपी साबले आएर, तपाईंले जे गर्नुभयो ठिक गर्नुभयो, अब तपाईं गएर कार्यक्रम सकेर निस्कनुस् भन्नु भयो ।’
त्यसपछि आफू मञ्चमा पुगेर प्रहरी र आफ्ना समर्थकलाई संयमित हुन आग्रह गरेको प्रसाईंले सुनाए । ‘मैले मञ्चमा गएर प्रहरीसँग धक्कामुक्का नगर्नुस्, प्रहरीले पनि अश्रुग्यास नहान्नुस् भनेँ,’ प्रसाईंले भनेका छन् ।
त्यतिबेलै एक जना सिभिलका प्रहरीले आफूलाई मार्ने योजना रहेको रहेको जानकारी गराएको र लगत्तै उपत्यका छाडेको प्रसाईंले बताएका छन् । उनले उपत्यकामा कफ्र्यु लाग्दा काठमाडौं उपत्यका छाडिसकेको पनि बताएका छन् ।





