काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले अन्य दलले रास्वपामाथि आक्रमण गरिरहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा सांसद ढकालले रास्वपाका विषयमा अरू दलले ‘डिपफेक’ भिडियो बनाएर आक्रमण गरिरहेको बताए । “हामी संस्कारमा सम्भावना खोजिरहेका छौँ, हामीले ९५ दिनदेखि भिजिट भिसाको विषय उठाइरहेका छौँ,” ढकालले भने, “हामीले बोलेको दुई मिनेटका लागि सत्तापक्षले प्रतिवादमा घण्टौँ खर्चिरहेको छ ।”
उनले पार्टी उपसभापति स्वर्णिम वाग्लेको फेक अडियो पनि सत्तापक्षले नै बनाएर सार्वजनिक गरेको आरोप लगाए । “हाम्रा उपसभापतिको डिपफेक अडियोसमेत सार्वजनिक गरिँदै छ । यस प्रवृत्तिले लोकतन्त्र बलियो हुन्छ ?,” ढकालले भने, “यस्ता अभ्यासले लोकतन्त्रलाई कहाँ पुर्याउँछ ? आफ्नाविरुद्ध बोल्नेलाई जेल हाल्ने राणा शासन कहाँ गयो ?”
उनले लोकतान्त्रिक अभ्यासलाई कमजोर पार्नेहरू एकदिन आफैँ समाप्त हुने बताए । राज्यका हरेक निकाय दलीयकरणको प्रभावले काम गर्न नसक्ने भएको उनको भनाइ छ । आगामी ०८४ सादपछि आफ्नो पार्टी बलियो हुने दाबी गर्दै सांसद ढकालले त्यसबेला अहिलेका सत्तापक्ष पनि बोल्न नपाउने चेतावनी दिए ।
“दलीयकरणले देश थिलथिलो भएको छ । दलीयकरणले जसरी अख्तियारलाई सेपमा राखिएको छ, त्यो २०८४ पछि जुरुक्कै उठ्छ । २०८४ पछि संवैधानिक नियुक्तिहरू खारेज हुन्छन् । हरेक नेपाली बोल्छ, देश बोल्छ, विदेशमा रहेका नेपाली बोल्छन्, देश जुरुक्कै उठ्छ,” ढकालले भने, “त्यसबेला तपाईंहरू पनि बोल्न पाउनुहुनेछैन ।”








