काठमाडौँ : संयुक्त अरब इमिरेट्स (यूएई)ले भिजिट भिसापछि वर्किङ भिसामा समेत रोक लगाएको छ । एनआरएनए यूएईका अनुसार हाल यूएईले भिजिट/वर्किङ दुवै भिसा बन्द गरेको छ ।
हालको नेपालको अवस्थालाई मध्यनजर गरेर वर्किङ भिसा पनि बन्द भएको हुनसक्ने आँकलन एनआरएनए यूएईले गरेको छ । तर नेपाली दूतावासलाई यूएई पक्षले केही पहिलेनैदेखि बेथिति बढेको जनाउ दिँदै नेपालीलाई रोक लाग्न सक्ने चेतावनी दिँदै आएको थियो । परराष्ट्र मन्त्रालयका सूचना अधिकारी उद्धव न्यौपानेले भिजिट र वर्किङ भिसा बन्दबारेमा मन्त्रालयलाई आधिकारिक जानकारी नआएको बताउनुभयो ।
यस्तै वैदेशिक रोजगार विभागका महानिर्देशक कमल भट्टराईले पनि आफूलाई श्रम स्वीकृति बन्द भयो भनेर लिखित रुपमा कुनै सूचना नआएको जानकारी दिनुभयो । यसबारे कुनै आधिकारिक जानकारी नगराए पनि दुबईले नेपालीहरूलाई सोमबारदेखि भिजिट भिसा अर्थात् घुम्न वा भ्रमणमा जाने भिसा दिन छाडेको हो ।
भिजिट भिसाको नाममा फ्रिल्यान्सर र भिजिट भिसा भन्दै ठग्ने बिचौलियाहरूको ठगी धन्दा मौलाएका थिए । अबुधाबीस्थित नेपाली दूतावासले यसबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ । तर भिसा टाइपिङ गर्ने क्रममा आवेदन दिन नसकेको तथा पहिले नै टाइप भएका भिसासमेत रद्द हुन थालेको दुबई र नेपालस्थित विभिन्न कम्पनीहरूले जनाएका छन् ।
वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मुलुक मानिने यूएईमा हाल करिब ८ लाख नेपाली कार्यरत रहेको बताइन्छ ।





