केपी ओलीकै कारण यत्रो विध्वंस भयो : प्रचण्ड

२०८२ आश्विन ३०, बिहीबार

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण भदौ २३ गतेको नरसंहार र २४ गतेको विध्वंस भएको बताएका छन् ।

चितवनमा आयोजित एक कार्यक्रममा उनले यति ठूलो जनधनको क्षति हुँदासमेत ओलीले पश्चातापसमेत नगरेको बताए । अरुतिर दोष देखाउने ओलीको प्रवृति घातक भएको प्रचण्डको टिप्पणी छ । ‘यत्रो विध्वंस भयो । उनकै नालायकीका कारणले यति ठूलो जनधनको क्षति भयो तर रतिभर पनि पश्चाताप छैन । आत्माआलोचना छैन । आत्मसमीक्षा छैन’ प्रचण्डले प्रश्न गरे, ‘मैले त केही गरेकै थिइनँ भनेर अन्यत्र दोष देखाउने ?’

जेनजी आन्दोलन हुनुपूर्व नै सरकारलाई बारम्बार खबरदारी गरेको प्रचण्डले स्मरण गरे । उनले ओलीको हर्कतबाट उनी निरंकुशतातर्फ फर्कन न खोजेका होइनन् भन्ने आशंका पनि गरेका छन् । पहिले दुईपटक संसद विघटन गरेको र अहिले पुर्स्थापना भन्दै हिँडेकोप्रति प्रचण्डले आशंका गरेका हुन् ।

उनले भने, ‘पहिला उनी संसद विघटन दुई दुईपटक संविधान मिचेर संसद विघटन गर्ने पात्र । हामी विघटन गर्न हुँदैन भनेर आन्दोलन गर्ने वाला । अहिले फेरि संसद विघटन भएर निर्वाचन घोषणा भइसकेको स्थितिमा फेरि पुनर्स्थापना भन्ने । यसबाट कहिँ उनी निरंकुशतन्त्रतिर, सामन्ती निरंकुशतन्त्रतिर फर्कने रणनीतिले काम त गरेको छैन ? तपाई हामी सबैले सोच्नु पर्ने स्थिति छ ।’

प्रचण्डले ओलीको अहंकारमाथि एमाले कार्यकर्ताहरूले विजय प्राप्त गर्ने विश्वास पनि व्यक्त गरेका छन् । एमालेको केन्द्रीय कमिटीको बैठक बसिरहेको र अध्यक्ष ओलीको नेतृत्वमाथि पार्टीभित्र पनि प्रश्न उठिरहेका प्रचण्डको यस्तो भनाई आएको हो । उनले भने, ‘मलाई लाग्छ एमाले भित्रका सबै इमानदार देशभक्तहरूले यो राष्ट्र संकटमा भएको बेलामा उनको यो अहंकारमाथि विजय प्राप्त गर्ने छन् भनेर म विश्वास व्यक्त गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार