काठमाडौं : तिहारको पूर्वसन्ध्यामा जनकपुरधाम तनावग्रस्त बनेको छ ।
जनकपुरधामको सोनारपट्टीमा संजय ठाकुरले नयाँ खोलेको ज्वेलर्समा गए राति प्रहरीले छापा मार्न पुगेपछि प्रहरी र व्यवसायीबीच झडप भएको हो । जसमा प्रहरीले गोली र अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा जनकपुरधाम उद्योगवाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएका छन् ।
झडपमा १० जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी डिएसपी गणेशबहादुर बलमे जानकारी दिए । डिएसपी बमका अनुसार अवस्था नियन्त्रणमा लिन सात राउण्ड हवाय फायर र २ सेल अश्रुग्यास प्रहार गरिएको हो । जानकी मन्दिरको दक्षिणपट्टी रहेको सोनारपट्टीमा संजय ठाकुरले संचालन गरेको ज्वेलर्समा राति ८ बजे विशेष सूचनाको आधारमा सिभिलमा प्रहरी पुगेका थिए ।
डिएसपी बमका अनुसार ज्वेलर्सबाट बिल विजक नभएको अन्दाजी ७ किलो चाँदी बरामद गरिएको छ । प्रहरी टोली डिएसपी बमकै कमाण्डमा पुगेको थियो । उनी अहिले जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यवाहक प्रमुखसमेत हुन् ।





