काठमाडौं : गृहमन्त्री ओम प्रकाश अर्यालले पूर्व ऊर्जामन्त्री दीपक खड्का आफूले एक सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदा नेपालमा नरहेको र पछि फर्किएको स्पष्टिकरण दिएका छन्।
सोमबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन्। केही दिनअघि गृहमन्त्री अर्यालले एक अन्तर्वार्तामा पूर्वमन्त्री खड्का विदेश भागेको आशयको अभिव्यक्ति दिएका थिए। त्यसको भोलिपल्टै पूर्वमन्त्री खड्का काठमाडौंस्थित आफ्नो जलेको निवासबाट सार्वजनिक भएका थिए र आफू भागेको नभई उपचारका लागि भारत गएको स्पष्ट पारेका थिए।
सोमबार पत्रकारहरूले यही विषयमा प्रश्न गर्दा गृहमन्त्री अर्यालले भने, ‘मैले अन्तर्वार्ता दिँदाको अवस्थामा उहाँ कहाँ हुनुहुन्थ्यो, त्यो सोध्नुस् न। मैले बोलेको दिन उहाँ कहाँ हुनुहुन्थ्यो ? अन्तर्वार्ता छापिएपछि त उहाँ आउनुभयो नि।’ मन्त्री अर्यालले आफूले बोलेको समयमा खड्का नेपाल बाहिर रहेको र पछि स्वदेश फर्किएको विषयलाई पत्रकारहरूले बुझ्नुपर्ने बताए।
भदाै २४ गतेको जेन-जी आन्दोलनका क्रममा खड्काको घरमा आगजनी भएपछि उनी सार्वजनिक रूपमा देखा परेका थिएनन्।





