सङ्घीय सरकारद्वारा विकास बजेट रोकिँदा समस्या भएको छ : मुख्यमन्त्री आचार्य

२०८२ कार्तिक ८, शनिबार

अर्घाखाँची : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीय सरकारद्वारा विकास बजेट रोकिँदा चालु आर्थिक वर्षका लागि विनियोजित बजेट कार्यान्वयनमा समस्या भएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) अर्घाखाँचीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मुख्यमन्त्री आचार्यले सडक, पूर्वाधार, सहरी विकास, खानेपानीलगायत जनतासँग प्रत्यक्ष जोडिएका शीर्षकमा विनियोजित बजेट सङ्घीय सरकारद्वारा रोकिँदा काम अघि बढ्न नसकेको बताएका हुन् ।

उनले भने, “सङ्घीय सरकारले बजेट रोक्का गर्दा सहरी विकास, खानेपानी, सडकका काम रोकिएका छन् । वर्तमान अवस्थामा बजेटबिना काम गर्न समस्या हुन्छ । अर्घाखाँचीको विकासको गति अहिले निर्णयले कहाँ पु-याउँदैछ ? देशको विकास के हुँदैछ ? यो विषयमा सरोकार भएका सबै जवाफदेहिता हुनुपर्छ ।”

मुख्यमन्त्री आचार्यले प्रदेश सरकारको तर्फबाट अर्घाखाँची जिल्लामा काम भइरहेका उल्लेख गर्दै भावी दिनमा उपलब्ध साधनस्रोतको सदुपयोग गरी जनताको आकाङ्क्षा पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए । केही व्यक्तिले सरकारी कार्यालयमा पुगेर धम्कीपूर्ण व्यवहार देखाउने तथा अराजक गतिविधि गरिरहेकामा चिन्ता व्यक्त गर्दै उनले स्थानीय प्रशासनलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

मुख्यमन्त्री आचार्यले भने, “निश्चित समूह केही व्यक्ति कार्यालय गएर कर्मचारीलाई धम्क्याउने र थर्काउने काम भइरहेको छ । अबिलम्ब त्यसलाई रोक्नका लागि ठोस् कदम चाल्न सरोकार भएका सबैलाई अनुरोध गर्दछु । यस्तो गर्न कसैलाई पनि छुट छैन । कर्मचारीको मनोबल घटाउने अधिकार कसैलाई पनि छैन । यो कार्य तुरुन्त रोकिनु आवश्यक छ ।”

उनले आपसी भाइचारा र सम्बन्ध कायम राख्दै आएको सामाजिक सद्भावलाई अक्षुण राख्न सबै राजनीतिक दल, नागरिक समाज र सङ्घसंस्थाका प्रतिनिधिलाई सहयोग गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार