काठमाडौँ : एघारौं महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आगामी १५ गते बस्ने भएको छ।
बैठकले महाधिवेशनसँग सम्बन्धित विभिन्न निर्णय गर्ने पार्टीले जनाएको छ। असोज २९–३१ मा भएको एमालेको केन्द्रीय कमिटी बैठकले एघारौं महाधिवेशन पोखरामा कार्तिक २७–२९ मा गर्ने निर्णय गरेको छ।
पार्टीका कार्यालय सचिव डा.भिष्म अधिकारीका अनुसार कार्तिक १५ गते पार्टीको सचिवालय बैठकबाट महाधिवेशनका बारेमा विभिन्न निर्णय गर्ने तयारी छ। सो बैठकले महाधिवेशन प्रतिनिधी छनौट विधि, महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिती गठन, स्थानीय आयोजकसँग समन्वय आदिका बारेमा निर्णय गर्ने सचिवालयका एक नेताले जानकारी दिएका छन्।
ति नेताका अनुसार सो बैठकले महाधिवेशन तयारीको पूर्ण खाका सार्वजनिक गर्नेछ। बैठकले महाधिवेशनको लोगो र नाराका विषयमा पनि छलफल गर्नेछ।





