काठमाडौँ : तुलसीपुर उच्च अदालत बुटवल इजलास कार्यालयमा बिहीबार(आज) हुने भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेको निवेदनको सुनुवाइ स्थगित भएको छ।
लामिछानेले बिगोबमोजिमको रकम बुझाएर धरौटीमा थुनामुक्त माग गरिएको निवेदन उपरको आजको सुनुवाइ स्थगित भएको उच्च अदालत बुटवल इजलास कार्यालयले जनाएको छ। उक्त मुद्दाको सुनुवाइ न्यायाधीश ओमप्रसाद अर्याल र तेजनारायण पौडेलको इजलासमा परेको थियो। तर पूर्व डिआइजी छविलाल जोशीका कानुन व्यवसायीले सुनुवाइ स्थगितको माग गरेपछि आजको सुनुवाइ स्थगित भएको हो।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा सभापति लामिछानेसँगै पूर्व डिआइजी जोशी पनि अभियुक्त छन्। दुवै जना अहिले पुर्पक्षका लागि थुनामा छन्। दुवै जनाले बिगो रकम बराबरको धरौटीमा थुनामुक्तसहित मुद्दाको पुर्पक्षको माग गर्दै उच्च अदालतमा निवेदन दिएका थिए। यही कारण दुवै जनाको निवेदन अदालतले सँगै राखेर सुनुवाइ गरिरहेको छ।
सुप्रिम सहकारी ठगी मुद्दा प्रकरणमा लामिछानेसहितका प्रतिवादीलाई १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ। लामिछानेले त्यसको चार भागमध्ये आफ्नो भागबराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानतसहितको निवेदन पेस गरेका छन्।









