विद्यमान समस्या समाधान गर्न नयाँ दल खोलेको हुँ : रेशम चौधरी

२०८२ कार्तिक १३, बिहीबार

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले देशमा विद्यमान समस्याहरूको समाधान गर्न र आम नागरिकका माग सम्बोधन गर्न आफूहरूले नयाँ पार्टी गठन गरेको बताएका छन्।

बिहीबार निर्वाचन आयोगमा ‘नागरिक उन्मुक्ति पार्टी, नेपाल’ नामक नयाँ दल दर्ताका लागि ४५ सदस्यीय केन्द्रीय कार्यसमितिसहित निवेदन दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै चौधरीले यस्तो बताएका हुन्। उनले देशका आम नागरिक सबैको चित्त दुखिरहेको अवस्थामा उनीहरूका घाउमा मलम लगाउन नसकिएकोले नयाँ दल आवश्यक परेको बताए।

‘भर्खरै मात्रै जेन-जीको आन्दोलनले यो देशको राजनीतिक अवस्था उथलपुथल भएको छ। यो आन्दोलनले मागेको माग सबै नागरिकको माग हो, आमजनताको माग हो,’ चौधरीले भने, ‘ती मागलाई नागरिकका तर्फबाट सम्बोधन गरिनुपर्छ भन्ने हेतुले हामीले नागरिक उन्मुक्ति पार्टी, नेपाल स्थापना गरेका हौँ।’

नयाँ पार्टीको अध्यक्षमा टीकापुरकै जेन-जी पुस्ताका कविर सोबलाई अघि सारिएको छ। चौधरीले टीकापुर घटनाका साक्षी रहेका सोबले त्यहाँको विभेद र दमनलाई नजिकबाट देखेको र उनी एक शिक्षित युवा भएको बताए। त्यसैगरी, हालै जनमत पार्टी परित्याग गरेका पूर्वमन्त्री अब्दुल खानलाई वरिष्ठ उपाध्यक्ष र थारु आयोगको नेतृत्व गरिसकेका डा. उमाशंकर चौधरीलाई महासचिवको जिम्मेवारी दिइएको छ।

चौधरीले आफ्नो नयाँ दलले देशको राजनीतिक सुशासन र समृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। श्रीमती रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीसँगको विवादपछि चौधरीले नयाँ पार्टी खोलेका हुन्। प्रस्तावित पार्टीको चुनाव चिह्न ‘जाँतो’ राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार