काठमाडौं : भारतीय पूर्व–अलराउन्डर अभिषेक नायरलाई इन्डियन प्रिमियर लिग (आईपीएल) फ्रेन्चाइज टिम कोलकाता नाइट राइडर्सको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरिएको छ।
उनले पछिल्ला तीन सिजनसम्म टिमका मुख्य प्रशिक्षक रहेका चन्द्रकान्त पण्डितलाई प्रतिस्थापन गरेका हुन्। पण्डितको कार्यकालमा कोलकाताले सन् २०२४ मा आईपीएलको उपाधि जितेको थियो। गत सिजन भने प्लेअफमा पुग्न सकेन ।
कोलकाता र पण्डितबीच यस वर्षको सुरुवातमा आपसी सहमतिको आधारमा छुट्टिने निर्णय भएपछि नयाँ प्रशिक्षक खोजी प्रक्रिया सुरु भएको थियो। यस क्रममा नायरलाई जिम्मेवारी दिइएको हो। कोलकाता पछिल्लो समय भारतीय प्रशिक्षकतर्फ केन्द्रित भइरहेको छ ।
कोलकाताका प्रमुख कार्यकारी अधिकृत भेन्की मैसोरले भने, ‘अभिषेक २०१८ देखि हाम्रो टिमको महत्त्वपूर्ण हिस्सा बनेका छन्। खेलको गहिरो बुझाइ र खेलाडीहरूसँगको उनको सम्बन्धले टिमको विकासमा ठूलो योगदान दिएको छ। अब उनी मुख्य प्रशिक्षकको भूमिकामा आउनु उत्साहजनक छ।’
४२ वर्षका नायर आधुनिक र खेलाडी–केन्द्रित प्रशिक्षण शैलीका कारण खेलाडीहरूबीबच लोकप्रिय छन्। उनले २०१८ देखि कोलकातासँग काम गर्दै आएका छन्, यद्यपी २०२५ सिजनमा भारतीय टिमसँगको जिम्मेवारीका कारण कोलकातामा उनको संलग्नता सीमित थियो।
नायरले व्यक्तिगत रूपमा केएल राहुल, श्रेयस अय्यर र रोहित शर्मालाई प्रशिक्षण दिएका छन् । रोहित शर्माले सार्वजनिक रूपमा आफ्नो फर्ममा फर्कन नायरको योगदानका लागि धन्यवाद दिएका थिए।









