काठमाडौं : जेनजी आन्दोलनको दमन र भोलिपल्ट नख्खु कारागारमा भएको आगजनी तथा कैदी भागेको घटनाको जाँच गर्न गठित आयोगले सोमबार नख्खु पुगेर थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग सोधपुछ गरेको छ ।
आयोगको टोलीले कारागारको समग्र अवस्था निरीक्षण गर्दै लामिछानेसहित नाइके, भाइ-नाइके र अन्य कैदीबन्दीसँग विस्तृत कुराकानी गरेको हो । भदौ २४ मा आन्दोलनकारीको भीड कारागार छिरेपछि लामिछाने बाहिर निस्किएका थिए ।
त्यसपछि सयौँ कैदी फरार भएको आरोप छ । रवि र रास्वपाले भने जेलर सत्यराज जोशीले जारी गरेको पत्रका आधारमा लामिछाने कानुनी रूपमै थुनामुक्त भएको दाबी गरेका छन् ।
आयोगले आइतबार जोशीसँग सोधपुछ गरे लगत्तै सोमबार लामिछानेलाई भेटेको हो । सोधपुछमा लामिछानेले जेलबाहिर निस्कनुपरेको बाध्यता, जेलरको पत्र, भीडको दबाब, सुरक्षा कमजोरी र फुत्केका कैदीको अवस्थाबारे आफ्नो धारणा राखेका छन् । आयोगले सबै पक्षको बयान लिएर वस्तुस्थिति पत्ता लगाइ रहेको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने भैरहवाबाट नख्खु सरुवा भएका थिए।
आयोगले आइतबार प्रहरी हेडक्वार्टरलाई पत्र पठाएर भदौ २३/२४ मा ड्युटीमा रहेका सबै प्रहरी इन्चार्जलाई उपत्यका नछाड्न सर्कुलर जारी गराएको छ ।





