काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा.रामवरण यादवसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा निर्वाचनको वातावरण बनाउनका निम्ति विभिन्न पक्षहरुसँग संवाद गर्ने क्रममा गृहमन्त्री अर्यालले मंगलबार डा.यादवसँग भेटवार्ता गरेका हुन् । गृहमन्त्री अर्यालले नेपालका प्रथम राष्ट्रपति डा.यादवको ललितपुरको बागडोलस्थित निवासमै पुगेर उनको स्वास्थ्य अवस्था र भदौ २३ र २४ गतेको घटनाले पारेको असरका सम्बन्धमा जानकारी लिएका थिए ।
केहीबेरको भलाकुसारीपछि केही राजनीतिक विषयमा कुराकानी भएको बताइएको छ । त्यस क्रममा गृहमन्त्री अर्यालले जेन–जी आन्दोलनले दिएको कार्यादेशअनुसार सरकारी सेवामा प्रभावकारिता र पारदर्शिता बढाउनेदेखि निर्वाचनको तयारीका लागि सरकारका तर्फबाट भइरहेका प्रयासबारे जानकारी गराए ।
सरकारले निर्वाचनलाई अर्जुनदृष्टि मानेर काम भन्दै उनले अभिभावकीय भूमिकामा रहेका पूर्वराष्ट्रपति यादवलाई समाजका सबै पक्षलाई निर्वाचनतर्फ उन्मुख हुने गरी प्रेरित गरिदिन आग्रह पनि गरे ।
डा.यादवले पनि प्रधानमन्त्री कार्की नेतृत्वको सरकारका तर्फबाट निर्वाचनका लागि वातावरण बनाउन भइरहेका प्रयासको सरहाना गरेका छन् । उनले पूर्वप्रधानन्यायाधीशको नेतृत्व र समाजका स्वतन्त्र व्यक्तिहरु सामेल भएको कारण यस सरकारले निष्पक्ष चुनाव गराउन सक्ने विश्वास व्यक्त गरे ।
चुनावका संवाहक दलहरु नै भएकाले अब चुनावभन्दा दायाँबायाँ सोच्न नहुने धारणा पनि उनले राखे । अहिले चुनाव हुन सकेन भने भोलि अर्को ठूलो संकट आउन सक्नेतर्फ सबै पक्ष सचेत रहनुपर्ने उनको भनाइ थियो। डा.यादवले भने, ‘अहिले चुनाव गराउन सकिएन र यो प्रक्रिया डिरेल भयो भने प्यान्डोरा बक्स खुल्छ। अब दायाँबायाँतिर लाग्नुहुँदैन। तपाईँहरुले जे गरिरहनुभएको छ त्यो ठिक छ। प्रधानमन्त्रीज्यू पनि चुनावमा केन्द्रित गम्भीरतापूर्वक लाग्नुभएको देखिन्छ।’











