काठमाडौं : बर्दियामा मोटरसाइकल दुर्घटनामा परेर एकको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
मृत्यु हुनेमा गुलरिया नगरपालिका-७, गुलरिया गाउँ बस्ने मोटरसाइकलमा सवार ३० वर्षीय विकास यादव छन् । यसैगरी, मोटरसाइकल चालक ३६ वर्षीय रामदल सोनी घाइते भएका छन् ।
राजापुरदेखि गुलरिया तर्फ आउँदै गरेको लु.प्र.०३००१ प. ४१५७ नं को मोटरसाइकल हुलाकी सडकअन्तर्गत राजापुर नगरपालिका-१०, जोगीपुर स्थित अनियन्त्रित भई राति करिब ११ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटना हुनासाथ दुवै जनालाई प्राथमिक स्वास्थ्य केन्द्र राजापुर लगिएको थियो । थप उपचारका लागि बर्दिया अस्पताल गुलरिया लगिएकोमा उपचारको क्रममा यादवलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
घाइते मोटरसाइकल चालक सोनीलाई थप उपचारका लागि नेपालगन्ज लगिएका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरिक्षक देवेन्द्रकुमार मल्लले बताए । मृतकको शव बर्दिया अस्पताल गुलरिया रहेको छ ।











