काठमाडौँ : सनराइज पिक्चर्स प्रालीको ब्यानरमा निर्माण हुने चलचित्र ‘बाटुलो जून’को शुभसाइत गरिएको छ । पाटनस्थित बगलामुखी मन्दिरमा शुक्रबार क्यामेरा र स्कृप्ट पूजा गर्दै निर्माण युनिट फ्लोरमा निस्केको हो ।
पछिल्लो फिल्म ‘ड्रिम्स’ रिलिजको झन्डै १० वर्षपछि अभिनेता तथा निर्देशक भुवन केसी यो चलचित्रबाट ‘एक्सन कट’मा पुनरागमन गर्दैछन् । फिल्ममा अनमोललाई केसी अभिनेत्रीद्वय प्रिन्सी खतिवडा र नेन्सी खड्काले अभिनयमासाथ दिनेछन् । भुवन केसी आफैंपनि प्रमुख अभिनयमा रहने बाटुलो जूनमा प्रकाश घिमिरे, रेअर राई, दिपक केसी, श्वेता मिश्र, लक्ष्मी गिरी, शारदा गिरी, लक्ष्मीनाथ तिमिल्सिना, शिशिर शिवाकोटी, अर्पणा घतानी, विविका पौडेल र कमल देवकोटाको अभिनय रहनेछ ।
निर्देशक केसीले यो चलचित्र ग्रामिण परिवेशको विशुद्ध प्रेमकथामा आधारित रहने बताए । ‘बाटुलो जून’ निर्माण जीया केसी र भविष्य खड्काले गर्न फागेका हुन् । खड्का फिल्म ‘जेरी अन टप’की निर्मात्री हुन् ।
पहिलो चरणमा ४५ दिनको छायाङ्कन सेड्यूअलसहित फ्लोरमा निस्केको यो फिल्मलाई काठमाडौ, ढोरपाटन, काभ्रेपलाञ्चोक, चित्लाङ र पोखरा लगायतका स्थानमा छायाङ्कन गरिनेछ । चलचित्रमा तेजबिक्सम केसी कार्यकारी निर्माता छन् भने लेखन सामिप्यराज तिमिल्सेना र सरिन पोखरेलको छ । फिल्ममा छायाङ्कन राजेश श्रेष्ठको रहनेछ भने रेनशा वान्तवा राईले कोरियोग्राफी गर्नेछिन् ।










