काठमाडौं : नेपाली टोली संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।
आफ्नो दोस्रो खेलमा बिहीबार हङकङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । लगातार दुई खेल जित्दै नेपाल चार अंकसहित समूह ‘ए’ मा पहिलो भयो । नेपाली टोलीले यसअघि आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले हराएको थियो । सेमिफाइनलमा नेपालको प्रतिद्वन्द्वीको टुङ्गो लाग्न भने बाँकी छ ।
बिहीबारको खेलमा पहिले टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ७० रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको हङकङको टोलीले भने ४०.५ ओभरमै अलआउट हुनुअघि एक सय ५१ रनमात्र बनाउन सक्यो ।





