काठमाडौँ : रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित चन्द्रपुर–गौर सडकखण्डको बालचनपुरमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
शनिबार साँझ करिब ७:३० बजे गरुडाबाट बालचनपुरतर्फ आउँदै गरेको नम्बर नखुलेको ट्याक्टरले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०३–०१३ प ३०६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक गढीमाई नगरपालिका–४ सुन्दरपुरका करिब ५० वर्षीय प्रमोद साह कानु गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि चन्द्रनिगाहपुरस्थित सरकारी अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
मोटरसाइकलको पछाडि सवार सोही स्थानका ६५ वर्षीय जोगेन्द्र हजरा पासवानको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई प्राथमिक उपचारपछि थप उपचारका लागि राति नै वीरगञ्जस्थित न्युरो अस्पताल रिफर गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख डीएसपी रूपा लाबुङले जानकारी दिइन् ।





