काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा अहिले वैचारिक इतिहास नभएकाहरु देशमा हाबी भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
उनले स्टन्टबाजी गरेकै भरमा ती तत्वहरु देशमा हाबी भएको भन्दै सोसल मिडियामा स्टन्ट गरेकै भरमा समाजलाई भ्रमित पार्ने काम गरेको चिन्ता व्यक्त गरे । शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित एकता सन्देशसभालाई सम्बोधन गर्दै उनले आफूहरुले नेतृत्व गरेको नेकपा कुनै स्टन्टबाजमा आधारित नभएर विचारमा आधारित भएर अघि बढ्ने विश्वास दिलाए ।
उनले भदौ २४ गते भएको विध्वंशको अवस्थाले नेपाल केही समय राज्यविहीनताको अवस्थामा रहेको स्मरण गराए । देशको राष्ट्रिय स्वाधिनता, आत्मनिर्णयको अधिकार र नेपाली जनताको सार्वभौमसत्ता नै खतरामा परेको देखिएको पनि उनले स्मरण गराए । देश थप दुर्घटनातर्फ नजाओस र संविधान दुर्घटनामा नजाओस भनेर यो सरकार बनाउनको लागि सहजीकरण गरेको पनि दाहालले दाबी गरे ।
उनले राष्ट्रिय एकता आजको आवश्यकता भएको उल्लेख गरे । आफूहरु अब विगतको भन्दा फरक ढंगले अघि बढ्ने विश्वास दिलाए । उनले नेपालको इतिहासमा १६ घटकहरु एकताबद्ध गरेको उल्लेख गरे । २१ फागुनमा तोकिएको प्रतिनिधिसभाको निर्वाचन नसार्न पनि प्रचण्डले चेतावनी दिए ।
संसद् पुनःस्थापना होला कि चुनाव होला ? भन्ने बहस भइरहेको भन्दै संविधानलाई योभन्दा बढि क्षति हुन नदिनको लागि निर्वाचन नै देशको लागि सहज बाटो भएको बताए । निर्वाचन बिथोल्ने र नेपाली जनताको निर्वाचनमा सहभागी हुने चाहनालाई कसैले पनि भ्रमित गर्ने काम कसैले पनि नगरोस भनेर चेतावनी दिए ।








