राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पूर्व राज्य संयन्त्रको चौतर्फी घेराबन्दी र प्रहारका बीच आफूसँग अब सत्यको साहस मात्र बाँकी रहेको बताएका छन्। हिरासतबाट रिहा भएपछि आइतबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित स्वागत सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
आफूमाथि लगाइएका मुद्दा र धरपकडको शृङ्खला स्मरण गर्दै लामिछानेले भने, ‘जिल्लैपिच्छे मुद्दा लगाउँदा पनि छोडेको छैन, कारागारहरूमा लाँदा पनि छोडेको छैन, मध्यरातमा अट्टहास गर्दा पनि छोडेको छैन। कुनै धम्की आउँदा पनि मैले छोडेको छैन। अब मसँग बाँकी रहेको भनेको एक मुठी सास र सत्यको साहस मात्रै हो, अरु मसँग केही पनि बाँकी छैन।’
सभापति लामिछानेले आफू सङ्गीन मोडमा उभिएर अन्यायविरुद्ध लडिरहेको बताए। उनले आफूलाई सिध्याउन खोज्नेहरूले अनाहकमा ‘हिरो’ बनाउन खोजेको टिप्पणी गरे। ‘म कसैलाई कटाक्ष गरेर वा कसैले हिलो छ्यापेर आफू सफा भइन्छ भन्ने कुरामा विश्वास गर्दिनँ,’ उनले भने, ‘तर कसैले अनाहकमा छ्यापेको हिलोलाई मैले आम नागरिक समक्ष पुछ्नै पर्छ, बताउनै पर्छ।’
सत्यको लडाइँमा आफू एक्लो नभएको र लाखौं जनताको साथ पाएको भन्दै उनले सत्यको जित हुनेमा आफू विश्वस्त रहेको जिकिर गरे। ‘मलाई एउटै कुरामा विश्वास छ कि आजसम्म सत्य हारेको छैन, त्यसकारण सत्य हार्दैन,’ उनले भने। जनताले लगाएको गुण आफू र आफ्नो पार्टीले कहिल्यै नबिर्सने बताउँदै उनले भने, ‘हामीले धेरै केही गर्न सकेनौँ होला तर तपाईंहरुले धेरै गुण लगाउनु भएको छ। म तपाईंहरुको ऋणी हुनेछु।’
कलिला भाइबहिनीको रगतमाथि कसैले खेलबाड गर्न नपाउने भन्दै उनले आफू बाँचुञ्जेल न्याय र सत्यका लागि लडिरहने प्रतिबद्धता व्यक्त गरे।








