अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

२०८२ पुष १२, शनिबार

झापा : चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ ।

मेची भन्सार कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा पाँच अर्व ५३ करोड ३२ लाख ४९ हजार बराबरको अलैची निर्यात भएको छ । पाँच महिनाको अवधिमा दुई हजार ६२२ दशमलव १०  मेट्रिक टन अलैँची निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईले जानकारी दिए । अघिल्लो आव २०८१/०८२ को सोही अवधीमा तीन अर्ब ४५ करोड ६३ लाख बराबरको अलैंची निर्यात भएको उनले बताए ।

कार्यालयको तथ्याङ्अनुसार चालु आवको पाँच महिनामा चियाको निर्यात ३१ दशमलव ४० प्रतिशतले घटेको छ । उक्त अवधिमा एक अर्व ८५ करोड ६२ लाख सात हजार मूल्य बराबरको चिया निर्यात भएको छ । अघिल्लो आव २०८१/०८२ को सोही अवधिमा दुई अर्व ७० करोड ३९ लाख ३६ हजार बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईले जानकारी दिए ।

कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा भेनीयर सिट १२९ दशमलव ९० प्रतिशत, छुर्पी ३२ प्रतिशत, अदुवा, सुठो ४८ दशमलव ७० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोपी ३६ दशमलव १० र मुसुरो दाल ४८१ प्रतिशतले वृद्धि भएको छ । यसैगरी प्लाउड ४६ प्रतिशत, अम्रिसो ३५ दशमलव ५० प्रतिशत र फलामे पाता निर्यातमा ९७ दशमलव ८० प्रतिशतले कमी आएको छ  ।

मेची भन्साबाट चालु आव २०८२/०८३ को पहिलो पाँच महिनामा १० अर्ब ७१ करोड ५४ लाख १३  हजार बराबरको मालवस्तु निर्यात भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार