काठमाडौं : रिज लाइन इनर्जी लिमिटेडले आज पुस १३ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये ११ करोड ८५ लाख रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ११ लाख ८५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।
सो आइपीओ खरिदका लागि गोरखा जिल्लाका अजिरकोट गाउँपालिकाको सम्पूर्ण वडाहरु र लमजुङ्ग जिल्ला दुधपोखरी गाउँपालिकाको वडा नं १, २, ३ तथा दोर्दी गाउँपालिकाको वडा नं ४, ५ र ६ का स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।
स्थानिय बासिन्दाले रिज लाइन इनर्जी आयोजना कार्यालय, गोरखा, प्रभु क्यापिटल, कमलादी, प्रभु बैंकको छेपेटार र पालुङटार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, प्रभु क्यापिटल लिमिटेडले निर्माण गरेको https://ipoapply.prabhucapital.com अनलाइन लिङ्कमा गई पनि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फाराम बापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।





