बाघको आक्रमणबाट बाँकेमा एकको मृत्यु

२०८२ पुष २०, आईतवार

नेपालगन्ज : बाघको आक्रमणबाट बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीमा शनिबार एक जनाको मृत्यु भएको छ ।

आक्रमणबाट स्थानीय ६१ वर्षीय मरिचमान भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए । बाघको आक्रमणबाट केही महिनाअघि कुसुममा एक जनाको ज्यान गएको थियो । प्रहरीका अनुसार गाई चराउन गएको बेला आज दिउँसो २ बजेतिर बाँके राष्ट्रिय निकुञ्जको ‘विचार दमार’ जङ्गलमा उनीमाथि बाघले आक्रमण गरेको थियो ।

भण्डारीसँगै गाई चराउन गएका स्थानीय पिमलाल डाँगीले बाघले एक्कासि आक्रमण गरेर लगेको जानकारी गराभएको प्रहरीको भनाइ छ । भण्डारीसँगै रहेका अन्यलाई पनि बाघले आक्रमण गर्न खोजेपछि भागेर ज्यान जोगाएको प्रहरीले जनाएको छ । घटनापछि बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निकुञ्जका कर्मचारी, स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दालगायतको टोली जङ्गलमा पुगेको थियो ।

बाघले आक्रमण गरेको उक्त क्षेत्र पूर्वपश्चिम राजमार्गको सौरी खोलादेखि उत्तरतर्फ रहेको छ । प्रहरीका अनुसार भण्डारीको शव नजिकै ५० मिटरको दूरीमा एउटा गाईलाई समेत बाघले आक्रमण गरेर मारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार