ढुक्क हुनुस् कांग्रेस फुटेर चुनाव रोकिँदैन : प्रचण्ड

२०८२ माघ २, शुक्रबार

चितवन : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवन आएर चुनाव हुनेमा ढुक्क हुन अनुरोध गरेका छन् ।

उनले आज भरतपुर महानगरपालिकाको प्रशासकीय भवनको उद्घाटनपछि चुनाव हुने नहुनेबारे सबैको मनमा प्रश्न जन्मिएको भन्दै सरकार, राजनीतिक दलहरू र नेपालको विषयमा चासो राख्ने कूटनीतिक क्षेत्रले पनि निर्वाचन चाहेको भन्दै निर्वाचन हुनेमा ढुक्क हुन अनुरोध गरेका हुन्।

‘हामी अहिले निर्वाचनको मुखमा छौँ । मानिसहरू सबैले सोधिराख्छन्, हुन्छ र चुनाव ? मैले भने चुनाव हुन्छ’, प्रचण्डले भने, – पहिला संविधानसभा चुनावको बेला पनि भोलि चुनाव छ अघिल्लो दिनसम्म पनि हुन्छ र हुँदैन भन्ने थियो । तर, चुनाव भयो । अहिले पनि चुनाव हुन्छ ।’ उनले निर्वाचन आयोगमा समानुपातिक लिस्ट पनि गइसकेको अवस्था । प्रत्यक्ष निर्वाचनको मनोनयन गर्ने दिन पनि नजिक आइसकेको अवस्था रहेको बताउँदै आफ्नो पार्टीले प्रत्यक्षतर्फ टिकट बाँड्न पनि थालेको उनको भनाइ छ ।

उनले भने, – मैले त दलको तर्फबाट हिजोबाट टिकट बाँड्न सुरु गरिसकेँ । हिजो काठमाडौँमा टिकट बाँडेर चितवन आएको । मैले सरकारको जे कुरा बुझेको छु, राजनीतिक दलहरूको जसरी अगाडि बढेका छन् । जनता पनि चुनावी मानसिकता लिएर अगाडि बढिसकेको हुनाले चुनाव हुन्छ । ’

प्रचण्डले चुनाव विना अर्को कुनै विकल्प यो देशको लागि अहिले उपयुक्त नभएको पनि तर्क गरेका छन् । प्रचण्डले भने, अरू विकल्प असहज छ । अरू दुर्घटना निम्त्याउने कारक बन्न पनि सक्छ । त्यस कारण निर्धारित समयमा स्वच्छ, निष्पक्ष चुनाव गराउन हामी सबैले योगदान गर्नुको विकल्प मैले केही पनि देखेको छैन ।

त्यसै गरि नेपाली कांग्रेस पार्टीको विशेष महाधिवेशन र फुटको अवस्थाका कारण अहिले निर्वाचन नहुने हो कि भन्ने अन्योलबारे सरकार, निर्वाचन आयोग तथा सुरक्षा संयन्त्रसँग बुझ्दा काँग्रेस फुटेर निर्वाचन प्रक्रियामा असर नपर्ने प्रतिक्रिया पाएको उनको भनाइ छ ।

प्रचण्डले सबैतिरबाट काँग्रेसको फुटले निर्वाचन प्रक्रियालाई असर पार्छ पार्दैन भन्ने जिज्ञासा भएकोले भरे भोलिसम्म नेपाली काँग्रेसको विभाजन र आधिकारिकताको विवादबारे केही न केही निरूपण हुने र निर्वाचन प्रक्रिया अघि बढ्ने दाबी गरे । उनले थपे, – काँग्रेसको आधिकारिकताको निरूपणपछि निर्वाचन प्रक्रियामा जान्छ । सरकार पनि प्रतिबद्ध देखिएको छ । अन्य राजनीतिक दलहरू प्नि प्रतिबद्ध देखिएका छन् । यो परिस्थितिमा सहजीकरण गर्न अपिल गर्न चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार