काठमाडौँ : नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको आन्तरिक मामिलामा धेरै बोल्न नहुने बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उपमहासचिव भट्टराईले यस्तो बताएका हुन् । उनले विभाजित कांग्रेस कुनै उपायले पुनः एक हुने अवस्था बनोस् भन्दै शुभकामना समेत दिए ।
उपमहासचिव भट्टराईले संविधान विपरीत दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर नेकपा एमालेलाई विभाजित गरिँदा शेरबहादुर देउवा नै प्रधानमन्त्री भएको स्मरण गर्दै भने, ‘संसद् एक महिना नारा लगाएको मलाई सम्झना छ । सभामुखले सुन्नै सुन्नु भएन । त्यतिबेला हामीले भनेका थियौ– प्रधानमन्त्रीज्यू कुनै बेला तपाईँलाई पनि आइपर्ला है ? २०५४ साल फागुनमा एमाले विभाजन हुँदा तत्कालीन सभामुखको भूमिका के थियो ? ‘
लोकतान्त्रिक आन्दोलनमा अगुवाइ गरेको नेपालको पुरानो पार्टी नेपाली कांग्रेस विभाजित हुनु दुःखको भएको बताए । पार्टीको विधान, नेपालको संविधान तथा राजनीतिक दल सम्बन्धी ऐनका आधारमा कानुनी छिनोफानो हुने समेत उनले बताए ।





