काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता ईश्वर पोखरेलले राष्ट्रिय स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता र अखण्डताका पक्षमा उभिने शक्ति एकजुट हुनुपर्ने बताएका छन् ।
एवं आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ क्षेत्र नं ५ का उम्मेदवार समेत रहेका उनले आज एमालेको क्षेत्र नं ५ स्तरीय भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रियताको विपक्षमा उभिनेहरुलाई जनताले चिन्नुपर्ने र एमालेले मुलुकको हितबाहेक अरु कुरामा ध्यान नदिने स्पष्ट पारे । “विकास निर्माणका मुद्दा हामीले उठाउँदै आएका छौँ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा धेरै राम्रा कामका सुरुवात भएका थिए । पूरा नभएका काम सम्पन्न गर्नका लागि एमालेले जित्नुपर्छ ।”
कार्यक्रममा एमालेका उपमहासचिव योगेश भट्टराई, सचिव डा राजन भट्टराई, राजधानी विशेष प्रदेश कमिटीका अध्यक्ष नारायण सिलवाल, एमालेको काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलालगायत सहभागी थिए ।





