महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : भण्डारी

२०८२ फाल्गुन २, शनिबार

काठमाडौँ : कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा महिला किन कम भए भनी निर्वाचन आयोगले अध्ययन गर्ने बताएका छन् ।

निर्वाचन आयोगले शुक्रबार आयोजना गरेको ‘निर्वाचन र आमसञ्चार विषयक कार्यशाला गोष्ठी एवं मुख्य प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम समापन कार्यक्रममा उहाँले विसं २०७८ को जनगणना अनुसार महिलाको जनसङ्ख्या बढी भए पनि मतदाता नामावलीमा कम देखिएपछि अध्ययन गर्न लागिएको जानकारी गराए ।

आफू पश्चिम नेपाल गएका बेला ५०, ६० वर्षका महिलासँग कुराकानी गर्दा मतदाता नामावलीमा नाम नभएको सुनाएका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताए । उनले यस विषयमा अध्ययन गरेर आगामी दिनमा यस्तो नहुने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे ।

“दलहरूले यसै साता घोषणा पत्रमार्फत् नीति तथा कार्यक्रम ल्याउने जानकारी दिएका छन् । अहिलेको पुस्ताले चाहे अनुसारका विषय आएरनआएको अध्ययन गरेर पत्रकारले समाचारमार्फत सार्वजनिक गर्नुपर्छ । गत भदौ २३ र २४ गतेको घटनापछि धेरैतिर फर्किएर बसेका दललाई आयोगले एकै ठाउँमा ल्याएर अहिलेको निर्वाचनको वातावरण बनाएको हो”, भण्डारीले भने । निर्वाचन सम्पन्न गर्ने सन्दर्भमा आयोग र सञ्चारमाध्यम एवं पत्रकार एकै सिक्काका दुई पाटो भएका उनको भनाइ छ ।

विदेशमा बस्ने मतदाताले मत हाल्न पाउने कानुन नभएकाले यस वर्षको निर्वाचनमा यस्तो व्यवस्था गर्न नसकिएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले जानकारी दिए । यस पटक आयोगले मितव्ययी निर्वाचन गर्न लागेको उल्लेख गर्दै उनले विदेशी विकास साझेदारसँग यस पटक आयोगले सहयोग नलिएको बताए । कार्यक्रममा मूलधारमा काम गर्ने ५० जना पत्रकारको सहभागिता थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार