५५ वर्षको साथ र त्यागको म सधैं ऋणी रहनेछु : प्रचण्ड

२०८२ फाल्गुन २, शनिबार

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नी दिवङ्गत जीवनसंगिनी सीता दाहालको स्मरण गर्दै प्रणय दिवस (भ्यालेन्टाइन डे) मनाएका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत एक प्रेमिल पत्र सार्वजनिक गर्दै उनले सीतासँग बिताएका साढे पाँच दशक लामो सहयात्राको स्मरण गरेका हुन्।

सीतालाई सम्बोधन गर्दै प्रचण्डले लेखेका छन्, ‘जीवनका ५५ वसन्त हामीले सँगै बितायौं। जीवन-मृत्युका अनेक उतार-चढावमा तिमीले जीवनसंगिनीका रूपमा दिएको साथ, उकाली-ओराली र कुना-कन्दरामा खुट्टाका फोकालाई समेत नजरअन्दाज गर्दै हरेक पाइला साथ दिएको ती अमूल्य क्षणहरूको म सधैं ऋणी रहनेछु।’

सीता भौतिक रूपमा साथमा नभएको कुरा अझै विश्वास गर्न कठिन भइरहेको उल्लेख गर्दै उनले सीताप्रतिको सच्चा श्रद्धाञ्जलीका लागि बाँकी जीवन महिला अधिकार र उत्पीडित वर्गको हितमा समर्पित गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

उनले लेखेका छन्, ‘हामीलेसँगै बिताएका हरेक पल मेरा मन-मस्तिष्कमा सधैं ताजा रहनेछन्।’

‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहालको २०८० असार २७ गते निधन भएको थियो। वि.सं. २०११ असार २१ गते कास्कीको हेम्जामा जन्मिएकी सीताको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो। सीता वि.सं. २०२८ देखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध थिइन्। पञ्चायतकालमा लामो समय भूमिगत जीवन बिताएकी उनी २०५२ सालमा जनयुद्ध सुरु भएपछि प्रचण्डसँगै भूमिगत भएकी थिइन्।

उनी तत्कालीन नेकपा (माओवादी) भित्रका संकट र आन्तरिक विवाद समाधानमा अत्यन्तै प्रभावशाली र समन्वयकारी भूमिका निर्वाह गर्ने नेतृका रूपमा परिचित थिइन्। निधन हुनुअघिसम्म नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार रहेकी सीताले जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न महत्त्वपूर्ण जिम्मेवारीहरू कुशलतापूर्वक सम्हालेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार