काठमाडौं : नेकपा एमालेका सचिव महेश बस्नेतले सामाजिक सञ्जालको चर्चा र सडकको वास्तविकता फरक हुने बताएका छन्।
मंगलबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले बङ्गलादेश र थाइल्यान्डको भर्खरै सम्पन्न निर्वाचनको उदाहरण दिँदै सामाजिक सञ्जालमा हुने ‘स्टन्टबाजी’ ले मात्र चुनाव जित्न नसकिने बताएका हुन्।
उनले भने, ‘बङ्गलादेश र थाइल्यान्डको चुनावले के देखायो भने सामाजिक सञ्जाल र गुगलमा चर्चा भएर मात्र हुँदो रहेनछ। सडकमा स्टन्ट गर्ने र ७७ लाख फलोअर्स भएका नेताहरू पनि पराजित भएका छन्। जनताले धेरै कुरा बुझिसकेका छन्।’
साथै, उनले सामाजिक सञ्जालमा कृत्रिम बौद्धिकता (एआई) र नक्कली आइडीको प्रयोग गरेर स्थापित नेताहरूलाई बदनाम गर्ने संगठित प्रयास भइरहेको समेत बताए। आफ्नै फेसबुक पेजको उदाहरण दिँदै बस्नेतले हिजो मात्रै आफ्नो पेजमा १६ हजार नकारात्मक प्रतिक्रिया एआईमार्फत गराइएको दाबी गरे।
‘एकै मिनेटमा एउटै व्यक्तिले ६८ वटासम्म कमेन्ट गरेको देखिन्छ, जुन प्राविधिक रूपमा मान्छेले सम्भव छैन। यो सबै फेक आइडी बनाएर एआईमार्फत नेताहरूलाई बदनाम गराउने खेल हो,’ उनले भने। नेकपा एमाले राष्ट्रियता, लोकतन्त्र र समृद्धिको पक्षमा दृढतापूर्वक उभिएको चर्चा गर्दै उनले आगामी निर्वाचनमा जनताले एमालेलाई नै रोज्ने विश्वास व्यक्त गरे।
विशेषगरी झापा ५ र भक्तपुर २ जस्ता क्षेत्रहरूलाई लक्षित गरी भ्रम फैलाउन खोजिएको भन्दै उनले एमाले कार्यकर्ता र आम जनतालाई सचेत रहन आग्रह गरे।










