काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूको पहिलो प्राथमिकता देश नै रहेको बताएका छन् ।
भूमि र स्वाधिनता, लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति, सुव्यवस्थाभन्दा माथि केही नभएको ओलीको भनाइ छ । ‘यस घडीमा हाम्रो प्राथमिकता एउटै हो, देश पहिला । देशको भूमि र स्वाधिनता, लोकतन्त्र, संविधान, देशको स्वाभिमान, शान्ति, सुव्यवस्था यी सबैभन्दा माथि केही छैन,’ ओलीले भनेका छन् ।
आफूहरू निर्माणको पक्षमा भएको भन्दै उत्तेजनाको पक्षमा नरहेको उनले बताए । ‘हामी निर्माणको पक्षमा छौं । उत्तेजनाको पक्षमा होइन । हामी स्वाधिनता र सार्वभौमसत्ताका रक्षक हौं । हामी जस्तै आक्रमणका बेलामा पनि मौन बस्दैनौं,’ ओलीले सम्बोधनको क्रममा भने ।
उनले एमाले विचारहीन र दिशाहीन स्टन्टबाट टाढा भएको पनि दाबी गरे । ‘हामी भय र त्रासमा बाँचेको समाजलाई शान्ति र सुव्यवस्थातर्फ फर्काउन चाहन्छौं । त्यसकारण हामी विचारहीन र दिशाहीन स्टन्टबाट टाढा छौं । हाम्रो गन्तव्य स्पष्ट छ, समृद्ध नेपाल, सुखी नेपाली,’ ओलीले भनेका छन् ।










