काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पटक-पटक परीक्षण भइसकेका र असफल साबित पुराना राजनीतिक दललाई भोट नहाल्न अपिल गरेका छन्।
शनिबार ललितपुरमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एउटै गल्ती बारम्बार दोहोर्याउने मतदाता भेडा र कुकुरको पुच्छर हुने बताए। मानिसले गल्तीबाट सिक्ने दृष्टान्त पेस गर्दै साम्पाङले भने, ‘साइकल सिक्दा लडेर घाइते हुनु स्वाभाविक हो, त्यहाँबाट सिकिन्छ। तर, त्यही गल्ती तीन पटकसम्म गर्ने मानिस होइन, भेडा हो।’
उनले थपे, ‘एउटै गल्ती चौथो र पाँचौं पटक दोहोर्याउँदै पुरानै दललाई भोट हाल्नेहरू कुकुरको पुच्छर हुन्, जसको कुनै उपाय छैन।’ उनले सचेत र नैतिकवान् नागरिकले सही र गलतको पहिचान गरी अब पुराना दलको विकल्प खोज्नुपर्नेमा जोड दिए।
उनले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी (हाल नेकपा) जस्ता पुराना दलबाट नयाँ विचार र चरित्रको अपेक्षा गर्नु मूर्खता भएको टिप्पणी गरे। यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति लक्षित गर्दै उनले सत्ताको अभ्यास गरिसकेकाहरूलाई नयाँ दल मान्न नसकिने जिकिर गरे।
‘घण्टी बजाउँदै आएको दलको सभापति उपप्रधान तथा गृहमन्त्री भइसकेको छ। आफैँ सहकारी काण्डमा मुछिएका छन्, जिबी राईलाई खोजेर ल्याउन सकेनन्,’ रास्वपाको नाम नलिई उनले भने, ‘त्यसैले उनीहरू नयाँ होइनन्, उनीहरूबाट केही थोक आउँदैन।’










