काठमाडौं : ललितपुरमा गस्तीमा खटिएको प्रहरीमाथि आक्रमण भएको छ। ढुंगामुढा गरी आक्रमणमा संलग्न चारजनालाई प्रहरीले हवाई फायर गरी नियन्त्रणमा लिएको छ।
प्रहरी चौकी लुभुबाट खटिएको प्रहरीमाथि महालक्ष्मी नगरपालिका वडा नम्बर ७, चाँगाथली क्षेत्रमा सोमबार बेलुका पौने ११ बजे आक्रमण भएको थियो।
आत्मरक्षाको लागि १ राउन्ड हवाई फायर गरी स्थितिलाई नियन्त्रणमा लिई थप टोली परिचालन गरी घटनामा संलग्न रहेका व्यक्तिहरूलाई पक्राउ गरी उत्तेजना रिसको आवेशमा आई कुटपिट गरेको सम्वन्धी कसुरमा ललितपुर जिल्ला अदालतबाट ८ दिन थुनामा राख्ने म्याद लिइएको ललितपुर प्रहरीले जनाएको छ। घाइते प्रहरी कर्मचारीको किस्ट अस्पताल इमाडोलमा उपचार भइरहेको ललितपुरका एसपी गौतम मिश्रले बताए।
पक्राउ पर्नेहरूमा मकवानपुरको मकवानपुरगढी घर भई ललितपुर बस्ने बुद्ध तामाङ, सल्यान घर भई भक्तपुर बस्ने रमेश शाही, सल्यान घर भई भक्तपुर बस्ने शंकर शाही र रुकुम घर भई भक्तपुर बस्ने राजु मगर छन्।









