पाेखरा : गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा कम्युनिष्ट दल नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले एउटा पनि क्षेत्रमा विजय हासिल गर्न सकेनन् ।
गण्डकीबाट दुवै दलको प्रतिनिधित्व शून्य बनेको छ । विसं २०७९ को चुनावमा गण्डकीबाट एमालेले पाँच र नेकपाले दुई निर्वाचन क्षेत्रमा जितेको थियो । अघिल्लो चुनावमा १० क्षेत्रमा जितेको नेपाली कांग्रेस पनि यसपटक गण्डकीमा दुई सिटमा सीमित रह्यो ।
विसं २०७९ को चुनावमा बागलुङ–१ मा विजयी बनेको राष्ट्रिय जनमोर्चाका उम्मेदवारको यसपालि जमानत नै जफत भयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रदेशका कुल १८ निर्वाचन क्षेत्रमध्ये १५ निर्वाचन क्षेत्रमा विजयी बन्न सफल भयो । म्याग्दी, मुस्ताङ र मनाङबाहेकका जिल्लामा रास्वपा उम्मेदवारले जितेका हुन् । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन विजयी बने ।
मुस्ताङबाट नेपाली कांग्रेसका योगेश गौचन थकाली र मनाङमा पनि नेपाली कांग्रेसकै टेकबहादुर गुरुङले संसद्को यात्रा तय गर्न सफल भए । रास्वपाले प्रदेश राजधानी रहेको कास्कीलगायत अधिकांश जिल्लामा जित निकालेको हो । रास्वपाबाट कास्की–१ खड्कराज पौडेल, कास्की–२ मा उत्तमप्रसाद पौडेल र कास्की–३ मा बिना गुरुङ विजयी बने। बागलुङका दुवै क्षेत्रमा पनि रास्वपाका उम्मेदवार विजयी बने ।
बागलुङ–१ मा सुशील खड्का र बागलुङ–२ मा सोम शर्मा बिजयी बने । स्याङ्जाका दुवै क्षेत्रमा पनि रास्वपा उम्मेदवार विजयी बने । स्याङ्जा–१ बाट धनञ्जय रेग्मी र स्याङ्जा–२ बाट झविलाल डुम्रे ससंद्मा पुगे । तनहुँका दुवै क्षेत्रमा पनि रास्वपाका उम्मेदवारले जितेका छन् । तनहुँ–१ मा स्वर्णिम वाग्ले र तनहुँ–२ मा श्रीराम न्यौपाने विजयी बने ।
यस्तै, नवलपुर–१ मा रास्वपाकै राजन गौतम र नवलपुर–२ मा मनिष खनाल विजयी बने । लमजुङमा रास्वपाका उम्मेदवार धर्मराज केसी विजयी बने । पवर्तबाट रास्वपाकै सागर भुसालले ससंदीय यात्रा तय गरे । गोरखाका दुवै क्षेत्रमा पनि रास्वपाले जित्यो । गोरखा–१ मा सुदन गुरुङ र गोरखा–२ मा कविन्द्र बुर्लाकोटी विजयी बने ।









