प्रधानन्यायाधीशमा ६ जनाको नाम सिफारिस

२०८२ फाल्गुन २६, मंगलवार

काठमाडौं : न्याय परिषद्ले सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ ।

परिषद्को बैठकले प्रधानन्यायाधीशमा नियुक्तिका लागि ६ जना न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाउने निर्णय गरेको हाे । परिषद्को बैठकले योग्यता पुगेका सर्वोच्चका न्यायाधीशमध्ये वरिष्ठताको क्रमको आधारमा सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो ।

सर्वोच्चको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशको पदमा नियुक्ति हुन योग्य हुनेछ । प्रधानन्यायाधीशको पदावधि ६ वर्षको हुनेछ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण आगामी १८ चैतमा अवकाशमा जाँदैछन् । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्तिका लागि सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

तीन वर्ष अवधि पुगेका सबै न्यायाधीशहरूको नाम सिफारिस गरेपनि संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीशलाई नै प्रधानन्यायाधीश बनाउने अभ्यास छ । संवैधानिक परिषद्ले सिफारिस गर्ने प्रस्तावित प्रधानन्यायाधीश संसदीय सुनुवाइबाट अनुमोदन भएपछि नियुक्त हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार