काठमाडौँ : इरानको राजधानी तेहरानमा शुक्रबार प्यालेस्टिनी समर्थक अल-कुद्स दिवसको र्यालीनजिकै विस्फोट भएको छ। इरानको सरकारी टीभीका अनुसार र्याली क्षेत्रमा एकैसाथ धेरै विस्फोट सुनिएका थिए। तर कति जना मारिए भन्ने विषयमा अहिलेसम्म स्पष्ट जानकारी छैन।
अल-कुद्स दिवस हरेक वर्ष रमजानको अन्तिम शुक्रबार मनाइन्छ। यो दिन प्यालेस्टाइनको समर्थन र जेरुसेलम (अल-कुद्स) को मुद्दामा विरोध प्रदर्शनका लागि परिचित छ।
तेहरानमा प्रदर्शनका क्रममा मानिसहरूले अमेरिका र इजरायलविरुद्ध नारा लगाएका थिए। केही ठाउँमा प्रदर्शनकारीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको पुतला पनि जलाएका थिए।
यसै क्रममा विस्फोट भएको बताइएको छ। अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता द्वन्द्व जारी छ।
जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशमा ड्रोन/क्षेप्यास्त्र प्रहार गरिरहेको छ। अमेरिका-इजरायको आक्रमणबाट अहिलेसम्म १ हजार ३०० भन्दा बढी मानिस मारिएको र ८ हजार घर ध्वस्त भएको इरानले बताएको छ। यस्तै इरानको आक्रमणबाट अहिलेसम्म अमेरिकी सेनाका ७ जनाको मृत्यु र १४० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।









