पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

२०८२ चैत्र ४, बुधबार

कास्की : पर्यटकीय राजधानी पोखरा गुफाहरूको सहर पनि हो । यहाँस्थित महेन्द्र, चमेरे, गुप्तेश्वर महादेवलगायत गुफाहरूले पर्यटकीय आकर्षण बढाएका छन् ।

विभिन्न रहस्यात्मक गुफाका कारण पोखरा आउने पर्यटकको बसाइँसमेत लम्ब्याइरहेको अवस्थामा पोखरा महानगरपालिका–३३ भरतपोखरीको तिक्लाङस्थित सुन गुफालाई अर्को नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न यतिखेर यहाँका स्थानीयवासी सक्रिय बनेका छन् ।

करिब डेढ किलोमिटर लामो अनुमान गरिएको उक्त गुफा तिक्लाङ खेलमैदानको बीचबाट सेती नदीतिरस्थित चुनेपहरोसम्म रहेको स्थानीयवासी बताउँछन् ।

स्थानीयहरू यस गुफाका सम्बन्धमा धेरै पहिलादेखि जानकार भए पनि यसको पर्यटकीय उपयोगप्रतिको चासो भने विस्तारै विकसित भएको चुने पहरा सुन गुफा संरक्षण समितिका अध्यक्ष सङ्गीत बानियाँले बताए । गुफाको संरक्षण र विकाससँगै यसको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न तत्कालीन पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीले चासो दिएका थिए ।

स्व अधिकारीका साथै उनका पछि यहाँका प्रतिनिधिसभा सदस्य विद्या भट्टराई, तत्कालीन वडाध्यक्ष शिवप्रसाद आचार्य हुँदै वर्तमान वडाध्यक्ष रामचन्द्र अधिकारीले यस गुफाको प्रवर्द्धन र विकासका लागि सहयोग गर्दै आएका छन् ।

पछिल्ला वर्षमा यसको पूर्वाधार विकासतर्फ पनि राज्यको चासो बढिरहेको बताउँदै उनले हालसम्म सङ्घीय र स्थानीय बजेट गरी करिब रु ५० लाख बराबरको पूर्वाधार विकासका क्षेत्रमा काम भइसकेको जानकारी दिए ।

गुफाको संरक्षण, प्रवर्द्धन र विकासका लागि विसं २०७६ मा कार्यालय भवन निर्माण गरिसकिएको जनाउँदै उनले गुफाको प्रवेशद्वारसहित परिसरको व्यवस्थापन, सिँढी बाटो निर्माणलगायत कामहरू सम्पन्न भइसकेका उल्लेख गरे ।

गुफासमेत समेटिएको करिब ३० रोपनी क्षेत्रफल जग्गा रहेको बताउँदै उनले यसको पर्यटकीय उपयोग गर्ने सोच राखिएको जानकारी दिए । उनका अनुसार रहस्यात्मक गुफाभित्र प्राकृतिक रूपमा बनेका विभिन्न आकृतिसँगै ठूलो सङ्ख्यामा रहेका चमेरा अवलोकन गर्न सकिन्छ ।

पूर्वाधार विकासलाई प्राथमिकतामा राखी काम भइरहेको बताउँदै उनले गुफा प्रवेशका लागि बिजुलीबत्तीको व्यवस्थापनसहित शौचालयलगायत पूर्वाधार निर्माण सम्पन्न गर्दै पर्यटकका लागि औपचारिक रूपमा खुला गर्ने सोच बनाइएको जानकारी दिए । गुफासहित यस परिसर प्राचीनकालदेखि धार्मिक रूपमा महत्वपूर्ण स्थल रहेको उनको भनाइ छ ।

पृथ्वीराजमार्गअन्तर्गत पोखरा महानगरपालिका–३० पावरहाउसबाट करिब १० मिनेटको हिँडाइमा पुग्न सकिने यो गुफा पोखराको मुख्य बजारबाट सार्वजनिक यातायातबाट सहज रूपमा आउनजान सकिन्छ । गुफाभन्दा माथि रहेको तिक्लाङ चोकसम्म पोखरा महानगरका सार्वजनिक बसहरू नियमित रूपमा सञ्चालन हुँदै आएका छन् ।

पछिल्ला समयमा कृषि पर्यटनको आकर्षक केन्द्रसमेत भएको तिक्लाङसहित समग्र बागमारा क्षेत्र दूधको सहरका रूपमा पनि प्रसिद्ध छ । गुफा अवलोकन गर्न आउने पोखरा र आसपासका आन्तरिक पर्यटकले यस क्षेत्रमा उत्पादित दूध, तरकारी आदि कोसेलीका रूपमा लैजान सक्छन् ।

पोखराको दोभिल्ला हुँदै पुडिटारसम्म विश्व बैंकको सहयोगमा बनेको फराकिलो सडकका कारण पनि यहाँको मुहार फेरिएको स्थानीय बताउँछन् । गुफासहित यस क्षेत्रको पर्यटकीय विकासलाई वडाले प्राथमिकतामा राखेको पोखरा–३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले बताए ।

“हामीले यस क्षेत्रका हरेक सम्भावनालाई उजागर गर्न खोजेका छौँ,” उनले भने, “सुन गुफाको प्रवर्द्धनसँगै यहाँका कृषि पर्यटनका हरेक सम्भावनालाई पनि सँगसँगै लैजाने हाम्रो लक्ष्य छ ।”

सुन गुफा धेरै पर्यटकीय सम्भावना भएको गन्तव्यका रूपमा रहेको बताउने युवा पदम थापाले यसको पर्यटकीय उपयोगमा सबैको चासो पुग्नुपर्नेमा जोड दिए । यसको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार हुन सकेमा आन्तरिक पर्यटनको विकाससँगै पोखरा आउने विदेशी पर्यटकको बसाइँ लम्ब्याउन पनि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

“गुफा अवलोकनका लागि पर्यटकको आगमन बढाउन सकेमा त्यसले यहाँका स्थानीयको रोजगारी अभिवृद्धिमा पनि महत्वपूर्ण सहयोग पुग्ने देखिन्छ,” उनले भने, “बढ्दो पर्यटकको आगमनले यहाँका उत्पादनको बजारीकरणमा पनि सहयोग पुग्ने भएकाले अर्थतन्त्र चलायमान बनाउनसमेत गुफाको पर्यटकीय उपयोग आवश्यक छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार